चितवन खबर पोष्ट

घरायसी कारण देखाउँदै माडी क्याम्पस प्रमुख रामकृष्ण क्षेत्रीद्वारा पदबाट राजीनामा

माडी, चितवन । माडी क्याम्पस प्रमुख रामकृष्ण क्षेत्रीले पदबाट राजीनामा दिनुभएको छ । क्षेत्रीले घरायसी कारण देखाउँदै क्याम्पस सञ्चालक समितिसमक्ष सोमबार राजिनामा पत्र बुझाउनुभएको हो । उहाँले २०७९ चैत तेश्रो सातादेखि क्याम्पसको प्रशासनिक नेतृत्व गरिआउनुभएको थियो ।

क्याम्पसप्रमुख क्षेत्रीको राजिनामासंगै सञ्चालक समितिको बैठकले सहायक प्रमुख तोयनाथ (अनुप) तिवारीलाई कार्यवाहक क्याम्पस प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको छ । साथै, हालको सञ्चालक समितिको कार्यकाल उत्तरार्धमा रहेकाले आगामी असोज २२ गते क्याम्पस सभा बसी नयाँ सञ्चालक समिति गठन गर्ने तयारी पनि गरिएको बुझिएको छ ।

क्षेत्रीविरुद्ध क्याम्पसका प्राध्यापक, कर्मचारी र विद्यार्थी संगठनहरुले निरन्तर दबाब दिँदै आएका थिए । उहाँमाथि शैक्षिक र प्रशासनिक गतिविधि अस्तव्यस्त बनाएको, बागमती प्रदेश विश्वविद्यालयसँग सम्बन्धनका लागि आवश्यक पहल नगरेको र व्यक्तिगत ढंगले काम गरेको आरोप लगाइएको थियो ।

त्यस्तै, नेविसंघ, अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) लगायतका विद्यार्थी संगठनहरुले पनि संयुक्त वक्तव्य जारी गर्दै कक्षा ११ को भर्ना प्रक्रिया ढिला गर्नु, विद्यार्थी–अभिभावकलाई पर्याप्त जानकारी नदिनु र क्याम्पसलाई हानी पुर्याउने निर्णय गरेको भन्दै राजीनामा माग गरेका थिए ।

तपाईको प्रतिक्रिया

ताजा समाचार