बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका बालक ढकालको उपचार सहयोग संकलन हुने क्रम जारी

320
SwadeshPost

१४ असार, चितवन । जन्मदेखि नै रगत सम्बन्धी स्वास्थ्य समस्या भई बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका माडी-७ देबेन्द्रपुरका ७ बर्षे बालक युनिक ढकालको उपचार सहयोग संकलनको क्रम जारी छ ।

ढकालको उपचार सहयोगका लागि राष्ट्रिय युवा संघ, नेपालको माडी नगर कमिटीले सहयोग रकम संकलन गरी २ लाख रुपैंया हस्तान्तरण गरेको छ । युवा संघका नेताहरु बिमल के.सी., मुन्ना मियाँ र दीपक भण्डारीको सहजिकरणमा संकलित सो रकम, सोमबार बिरामी बालकको परिवारलाई हस्तान्तरण गरिएको हो । भण्डारी हाल अष्ट्रेलियामा रहेका माडीबासी एवं अन्य गैरआवासीय नेपालीहरुबाट रु एक लाख १० हजार तथा मियाँ र के.सी.ले अमेरिकामा रहेका नेपालीहरुमार्फत रु. ५१ हजार ३ सय २८ र बाँकी काठमाडौं, जापान र माडीमै रहेका साथीहरुबाट सहयोग संकलन गर्नुभएको थियो ।

त्यसअघि परिवर्तनका लागि युवा अभियान माडी-७ देबेन्द्रपुरले समेत स्वदेश तथा प्रवासमा संकलन गरेको २ लाख ३० हजार रुपैंया आइतबार बालक ढकालको परिवारलाई हस्तान्तरण गरेको थियो । बालक ढकाललाई बोनम्यारो ट्रान्सप्लाण्ट शल्यक्रियाका लागि १३ लाख रुपैंया र औषधी एवं अन्य लागतस्वरुप थप रु २ लाख गरी १५ लाख खर्च लाग्ने भएकोमा हालसम्म करीब १२ लाख ५० हजार संकलन भइसकेको हो । उनलाई उपचारको लागि स्याम्पल टेष्ट गर्नुपर्ने भएकाले नगरप्रमुख ठाकुर प्रसाद ढकालको पहलमा एम्बुलेन्समार्फत सोमबार काठमाडौं लागिएको छ ।

SwadeshPost