माडीको बरुवास्थित सोमेश्वर माध्यमिक विद्यालयले विद्यार्थीको चाप अनुसार कक्षाकोठा अपुग र कम्पाउण्डिङ अपुरो हुँदा शैक्षिक गुणस्तर कायम गर्न समस्या परेको बताएको छ ।
माडीकै उच्चतम् संख्याका विद्यार्थीहरु अध्ययनरत सो विद्यालयमा आयोजित लैंगिक हिंसा रोकथाम सम्बन्धी आत्मरक्षा तालिमको सभाध्यक्षका रुपमा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखबहादुर गुरुङले सो जानकारी गराउनुभएको हो ।
कार्यक्रममा सहभागी नगरप्रमुख ताराकुमारी काजी महतो र प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेललाई इङ्गित गर्दै अध्यक्ष गुरुङले चारकोठे भवनमाथि थप चार वठा कक्षाकोठा निर्माण, ई.सि.डी. कक्षामा ट्रस भवन निर्माण र विद्यालयलाई कम्पाउण्डिङ कार्यमा स्थानीय सरकारको साथ खोज्नुभयो ।
कक्षा सञ्चालन भइरहँदा मेयर उपमेयरलाई अनुगमन गराउन चाहेको बताउँदै गुरुङले एउटै कक्षामा ७५ जनासम्म बिद्यार्थी रहेको र सेक्सन ब्रेक गर्न खोज्दा कक्षाकोठा नपुग्ने अवस्था रहेको औंल्याउनुभयो । विद्यालयलाई नमुना बनाउन व्यवस्थापन समिति र शिक्षक स्टाफले निरन्तर मिहिनेत गरिरहेको उहाँको भनाई थियो ।