चितवन । नेपाली कांग्रेसका माडी नगर सभापति कोमलनाथ भुसालले ‘माडीका लागि एकजना गिरीजाप्रसाद कोइराला आवश्यक रहेको’ बताउनुभएको छ ।
स्वदेश एफ.एम.को सन्ध्याकालीन कार्यक्रम समय सन्दर्भमा पत्रकार देवनारायण शाहसंग उत्तरित हुँदै नगर सभापति भुसालले विगतमा राप्ती नदीमा पुल बनाएका पूर्व प्रधानमन्त्री कोइरालाजस्तै अब निकुञ्जभित्र बाटो बनाउने नयाँ कोइराला बन्न प्रधानमन्त्री के.पी.ओलीलाई अनुरोध गर्नुभएको हो ।
देशको सबैभन्दा ठूलो पार्टी रहेकाले निकुञ्जभित्र सडक, अयोध्याधाम राममन्दिर निर्माण एवं सुकुम्बासी समस्या समाधानका लागि कांग्रेसको माडी नगर पार्टीले नेतृत्व गर्ने र यसका लागि ‘अन्तिम, ओजिलो तथा सामुहिक डेलिगेशन जाने’ तयारी भइरहेको उहाँले बताउनुभयो ।
अब माडीबासीलाई ‘आश्वासन नभई हुन्छ या हुँदैनमा जवाफ दिनुपर्ने’ उहाँको माग थियो । माडी नगर पार्टीले हाल आन्तरिक शसक्तिकरण अभियान चलाइरहेको तथा पाटीमा रहेका असन्तुष्टी एवं अन्तरबिरोध हल गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।