माडी, चितवन । बँदेलको बच्चा पालेको भन्दै निकुञ्ज रक्षक सेनाले रातको समयमा माडीका दुई महिला कृषकलाई पक्राउ गरेकोप्रति माडी क्षेत्रमा आक्रोश प्रकट भएको छ ।
बुधबार राती करीब ९ बजे निकुञ्ज रक्षक सेनाको पुरुष टुकडीले माडी ८ खरकट्टा निवासी बर्ष ३८ का सरस्वती भण्डारी र सोही वडाको माथिल्लो शिवद्वार गाउँ निवासी बर्ष ३० का रञ्जिता मगरलाई पक्राउ गरेको खबर सार्वजनिक भएसंगै माडीमा असन्तोष र आक्रोश देखिएको हो।
समृद्धिका लागि युवा अभियानले आधा रातमा आएर महिलाहरूलाई ज्यादती गरी धरपकड गर्नुलाई नेपाली सेना र निकुञ्ज प्रशासनको दिमागमा बि.सं. २०६२/६३ अगाडिको धंगधंगीका रुपमा अथ्र्याउँदै पक्राउ परेका दुबैजनालाई तत्कालै रिहाईको माग गरेको छ ।
स्थानीय सरकार एवं वडासंग कुनै समन्वय नै नगरी पुरुष सुरक्षाकर्मीबाट रातको समयमा जबरजस्ती महिला कृषक पक्राउ हुनु निन्दनीय रहेको सम्बन्धित वडा रहेको माडी-८ का वडाध्यक्ष वीरेन्द्र भण्डारीको भनाइ छ । पक्राउ परेका दुबैजना बिनासर्त तत्कालै रिहा हुनुपर्ने उहाँले बताउनुभयो ।
यसैगरी, नेकपा (माओवादी केन्द्र)का माडी नगर उपाध्यक्ष सन्तोष पनेरुले जनस्तरबाटै मध्यवर्ती व्यवस्था खारेजीको माग उठिराखेको बेला जनतालाई उत्तेजित बनाउने, भड्काउने, दुख दिने नियतले मध्यरातमा पुरुष अधिकारीहरुद्वारा गिरफ्तारीको बिरोध गर्दै तत्काल रिहाईको माग गर्नुभएको छ ।
त्यस्तै, माडीका युवा अगुवा हरि भुसालले उहाँकै शब्दमा माडीमा जङ्गली साँढेहरुको बिगबिगी धेरै भएको भन्दै ढिला नगरी बफर्जन खारेजीको अभियानमा लाग्न सम्पूणर् युवाहरुमा अनुरोध गर्नुभएको छ । सामाजिक सञ्जालका अन्य प्रयोगकर्ताहरुले समेत पक्राउको बिरोध गरेका छन् ।
नेपाल सरकार भने २०८० मंसिर ७ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै जंगली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरी निजी खेत, खला, बारीमा आई क्षति पुर्याएको अवस्थामा विना अनुमति धपाउन, लखेट्न, पक्रन वा मार्न सक्ने व्यवस्था गरेको छ ।