माडी, चितवन । गत भदौ १ गतेबाटै कालोपत्रेको काम सुरु गर्ने ‘अन्तिम समयसीमा’ दिएको बज्रगुरु कन्स्ट्रक्सनले पूर्वी माडीको बगहीँदेखि जीवनपुर खण्डमा अझै काम सुरु गरेको छैन ।
करीब १३ किलोमिटर लामो सो हुलाकी सडक खण्ड कालोपत्रे गर्ने ठेक्का पाएको ठेकदार कम्पनीका प्रतिनिधि तुलसी घिमिरे आफैले २०८१ साउन १६ गते सार्वजनिक रुपमा बोल्दै ‘भदौ १ गतेभित्र जसरी पनि कालोपत्रे सुरु गरिसक्ने’ अन्तिम समयसीमा तोक्नुभएको थियो ।
तर घिमिरे आफैले दिनुभएको समयसीमा पार भएको तीन महिना पुरा हुँदासमेत कालोपत्रे कार्य सुरु हुन नसकेको मात्रै होइन, कुनै उल्लेख्य प्रगति भएको देखिँदैन । घिमिरेले माडी ८ र ९ का वडाध्यक्षसहित समृद्धिका लागि युवा अभियानका अभियन्ता र स्थानीय राजनैतिक तथा सामाजिक अगुवाहरुसंग सो अन्तिम समयसीमा दिनुभएको थियो ।
यसैबिच, समृद्धिका लागि युवा अभियान सम्बद्ध अभियन्ताहरुले असोज ५ गतेको समयसीमाभित्र कालोपत्रे सुरु नगरे ‘ठेकदारको फोटोमा हिलो वा गोबर फ्याँक्ने जस्ता नैतिक दबाबमूलक प्रदर्शन गर्ने घोषणा’ गरेकोमा सो दबाबमूलक कार्यक्रम पनि भएको देखिएको छैन ।