

माडी, चितवन । ३६ बर्षको युवा उमेर अनि बैदेशिक रोजगारीबाट घरपरिवारलाई आर्थिक रुपमा भरथेग गरिरहेको अवस्थामै ब्लड क्यान्सरजस्तो असाध्य र खर्चिलो रोग लागेसंगै माडी-८, कान्तिपुर निवासी डम्बर बहादुर खत्रीका माहिलो छोरा प्रताप बहादुर खत्री जीवनमरणको दोसाँधमा पुगेका छन् ।

करीब ५ महिनाअघि रक्तक्यान्सर पुष्टी भएसंगै महाराजगंज काठमाडौंस्थित शिक्षण अस्पतालमा खत्रीको उपचार सुरु भएको हो । खर्चिलो र महंगो उपचारका निम्ति खत्री परिवारले ऋणधन र भएका धनसम्पत्ती बिक्री बन्धक गरी हालसम्म ३० लाख रुपैंया खर्च गरेको छ ।

अब खत्री परिवारसंग प्रतापको उपचारमा सघाउन थप श्रोत बाँकी नरहेर उपचार नै रोकिने अवस्था आएसंगै उपचार सहयोग गरी प्रतापको जीवन बचाइदिन परिवारले सार्वजनिक अनुरोध गरेको छ । अस्पतालले बाँकी उपचारमा अझै करीब ३५ लाख रुपैंया खर्च लाग्ने जानकारी दिएको अवस्थामा परिवार र स्थानीय युवाहरुले प्रताप खत्री बचाउ अभियान सञ्चालन गरेका छन् ।

अभियान अन्तरगत फागुन २८ गते बुधबार बिहानसम्म ३ लाख ५४ हजार ७२९ रुपैंया संकलन भएको छ । रक्तक्यान्सर पीडित प्रतापको उपचारका निम्ति यसै भिडियोमा राखिएको बैंक क्यु.आर. कोडमा यथासम्भव उपचार सहयोगका निम्ति अनुरोध गर्दछौं ।