चितवन खबर पोष्ट

क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई क्याम्पस आउन जान निःशुल्क बस सेवा सुबिधा उपलब्ध हुने

३० कार्तिक, माडी । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई निःशुल्क यातायात (बस) सुबिधा उपलब्ध गराउन माडी क्याम्पस र स्थानीय यातायात व्यवसायी पक्षबिच सम्झौता भएको छ ।

आइतबार (आज) हस्ताक्षरित दुईपक्षीय सम्झौतामा ’नारायणगढ माडी ठोरी रुटमा चल्ने चितवन छहारी र नारायणी यातायात (प्रा.) लि. सम्बद्ध बसहरुले माडीको बगहीँदेखि बनकट्टासम्मका विद्यार्थीहरुलाई माडीमा निःशुल्क यातायात सेवा प्रदान गर्ने’ र सो ’सेवा प्रदान गरेबापत क्याम्पसले बार्षिक ३ लाख २५ हजार रुपैंया भुक्तान गर्ने’ उल्लेख रहेको हो ।

सम्झौता अनुसार चितवन छहारी तथा नारायणी यातायात प्रा.लि.का बसहरुले नियमित पठनपाठन एवं अतिरिक्त कक्षा सञ्चालन भएका दिनहरुमा क्याम्पसको पोशाक, परिचयपत्र वा पाठ्यपुस्तकमध्ये कुनै दुईका आधारमा विद्यार्थीहरुलाई बसन्तपुर बजारसम्म निःशुल्क ल्याउनेछन् र लैजानेछन् ।

यसबाहेक बिहानी समयमा बनकट्टाबाट बसन्तपुरसम्म विद्यार्थी ल्याउन यातायात व्यवसायी पक्षले छुट्टै बसको व्यवस्था गर्नेछन् । सम्झौता अनुसार क्याम्पस सञ्चालन हुने समय बिहानको ६ बजेभित्र नै यातायात सुविधा प्रयोग गर्ने विद्यार्थीहरुलाई क्याम्पसमा ल्याई पुर्याउनु पर्नेछ ।

यस सम्झौता आउँदो २०८३ साल भदौ मसान्तसम्म कायम रहनेछ । सम्झौतामा, क्याम्पसका तर्फबाट व्यवस्थापन समिति अध्यक्ष टुकनारायण पौडेल, उपाध्यक्ष रामबन्धु पोख्रेल र क्याम्पस प्रमुख नेत्रप्रसाद गौतमले तथा यातायात व्यवसायीका तर्फबाट माधव आचार्य र भोलाप्रसाद लामिछानेले हस्ताक्षर गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार