१९ पाैष, माडी । चितवन राष्ट्रिय निकुञ्जभित्र पाइलट परियोजनाका रुपमा हुलाकी सडकमा बिछ्याउने तयारी गरिएको ब्लकको छेकवारका लागि आवश्यक कर्ब-स्टोन (Kerb Stone) माडी बनकट्टामा अनलोड भएको छ ।
पाइलट योजनाका रुपमा (सुरुवातमा) करीब ४० मिटर लम्बाई (२२४.४ स्क्वायर मिटर क्षेत्रफल) ब्लक राख्न माडीका जेनजी युवाहरुले कार्यादेश पाएकोमा सो स्टमेट अनुसारको कर्ब-स्टोन निर्माणस्थलमा झारिएको हो ।

शनिवार बिहान ३१० वटा कर्बस्टोन झारिएको जेनजी अगुवा एवं उपभोक्ता समितिका अध्यक्ष भरत ढकालले बताउनुभयो । सो कर्ब-स्टोन बाटोको दुबैतर्फ राखिने र यसको बिचमा क्रंकिट ब्लक बिछ्याइने उहाँको भनाई छ ।

अब क्रंकिट ब्लक ल्याउनुपूर्व सडकमा कंक्रिट बेसको प्रयोगशाला घनत्व (ल्याब डेन्सिटी) परीक्षण गर्नुपर्ने र सो कार्य पुरा भएपछि बाटोमा ब्लक राख्न सुरु गरिने अध्यक्ष ढकालले जानकारी दिनुभयो ।
माडीका जेनजी युवा तथा जनप्रतिनिधिहरूले राजधानी केन्द्रीत रूपमा दिएको अल्टिमेटम र भेटसम्वादको नतिजास्वरूप चितवन राष्ट्रिय निकुञ्जभित्रको बनकट्टा खण्डमा ब्लक (मोज्याक टायल) राखी सडक मर्मत गर्न वन मन्त्रालयले सहमति दिएको थियो ।
त्यसपश्चात माडी नगरपालिकाले विशेष नगर सभामार्फत हरेक वडाबाट २५ लाख रुपैंया र नगरस्तरका योजनाबाट ३ करोड रुपैंया बजेट कटौती गरी निकुञ्जभित्र ब्लक सडक निर्माण गर्न एकमुष्ठ ५ करोड २५ लाख रुपैंया बजेट सुनिश्चित गरेको थियो । सो बजेटबाटै निर्माण कार्य अगाडि बढेकोमा बनकट्टादेखि देउराली डाँडासम्म सडक मर्मत भएको छ ।


