२४ पाैष, माडी । माडी नगरपालिकाका प्रवक्ता एवं माडी-२ का वडाध्यक्ष डण्डपाणी पौडेलले ‘हनुमानझुलामा विजुली लैजान मेयर र उपमेयरले आँट गरे काम जसरी पनि सम्पन्न हुने’ जिकिर गर्नुभएको छ ।
हनुमानझुलामा बिजुली लैजान नगरसभाबाट बजेट व्यवस्थाको माग गर्दै बैठक रोेकेर बाहिरिएका नेकपा सम्बद्ध वडाध्यक्ष र कार्यापालिका सदस्यहरू सहित स्वदेश एफ.एम.संग बोल्दै नगर कार्यपालिका प्रवक्ता पौडेलले ‘हनुमानझुलामा बिजुली लैजाने बिषय बेवास्ता गरी अगाडि बढ्न नसकिने’ बताउनुभयो ।

त्यस्तै, माडी-४ का वडाध्यक्ष माधव चापागाईँले ‘मानिसलाई बस्न दिएपछि पानी र बिजुली जस्ता आधारभूत आवश्यकता उपलब्ध गराउनु अनिवार्य हुने’ बताउनुभयो । ‘हनुमानझुलाका नागरिकले बिजुली बाल्न, ट्र्याक्टर चलाएर जोत्न पाउनुपर्ने कुरा मानव अधिकारसँग जोडिएको भन्दै, यो सबैको साझा एजेन्डा भएको’ उहाँको भनाइ छ ।

माडी-३ का वडाध्यक्ष पुरन महतोले ‘पर्सा जिल्लाबाट आएको विद्युत् लाइनलाई हनुमानझुलातर्फ विस्तार गर्न स्थानीय सरकारलाई २५–३० लाख रुपैंया ठूलो कुरा नहुने भन्दै बजेट व्यवस्था गरी काम सुरु गर्नुपर्ने’ बताउनुभयो । ‘वडा नं. ९ का अध्यक्ष घनश्याम दवाडीले उठाउनुभएको यस तत्कालीन मागमा आफ्नो पूर्ण समर्थन रहेको’ उहाँको भनाई थियो ।
बिहिबार (आज) बिहान बसेको माडी नगरपालिकाको ६३औँ कार्यपालिका बैठक रोकेर बाहिरिनुभएका उहाँहरुले स्वदेश एफ.एम.संग कुराकानी गर्दै माडी नगरपालिकाको (भोलि आयोजित) हिउँदे नगरसभाबाट हनुमानझुलामा बिजुली लैजान आवश्यक बजेट रकमान्तर वा व्यवस्थापन हुनुपर्ने माग उठाएको जनाएका हुन् ।


