चितवन खबर पोष्ट

नेकपाका संयोजक प्रचण्डद्वारा प्रतिनिधिसभाको आउँदो निर्वाचन रुकुम पूर्वबाट लड्ने घोषणा

२६ पाैष, माडी । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको आउँदो निर्वाचन रुकुम पूर्वबाट लड्ने घोषणा गरेका छन् ।

विगतमा माडी क्षेत्र समेट्ने चितवन क्षेत्र नं. ३ बाट समेत चुनाब लडेर प्रतिनिधिसभा सदस्य एवं प्रधानमन्त्री समेत भएका उनले रुकुम पश्चिममा नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै आफू आगामी चुनाव रुकुम पूर्वबाट उम्मेदवार बन्ने स्पष्ट पारेका हुन्।

उनले पश्चिम रुकुमका जनताको विश्वास र चाहना पूरा गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै विकास निर्माणका कामलाई नयाँ शिराबाट अघि बढाइने र रुकुमवासीका दुःख–सुखमा सधैं साथ रहने प्रतिबद्धता व्यक्त गरे। उनलाई करिब आधा दर्जन जिल्लाबाट उम्मेदवार बन्ने सिफारिस आएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले रुकुमका जनताले ‘कुनै भगौडाको पछि नलाग्ने’ कुरा सावित गरेको टिप्पणी पनि गरे। रुकुमका प्रभावशाली नेता जनार्दन शर्मा पार्टी छाडेर गएको सन्दर्भलाई संकेत गर्दै उनले यस्तो धारणा राखेका हुन्।

सभामा देखिएको जनसहभागिताले आफूलाई उत्साहित बनाएको उल्लेख गर्दै उनले भने, ‘पहिला जस्तो उपस्थिति नहुने हो कि भन्ने अलिकति लागेको थियो। तर आजको सभाले रुकुमका जनता महान छन्, कुनै ‘भगौडा’को पछि लाग्दैनन् भन्ने कुरा सावित गरिदिनुभयो।’

तपाईको प्रतिक्रिया