०१ माघ, माडी । काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। मध्यराति सार्वजनिक परिणामअनुसार गगन थापा सर्वसम्मत रूपमा पार्टी सभापति चयन हुनुभएको छ ।
महाधिवेशनले दुई उपसभापति चयन गरेको छ, जसमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल रहनुभएको छ। त्यस्तै, महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन हुनुभएका छन्।

सहमहामन्त्रीतर्फ महिलाबाट डिला संग्रौला, दलितबाट प्रकाश रसाइली, आदिवासी जनजातिबाट बहादुरसिंह लामा, खसआर्यबाट उदय शम्शेर जबरा, मधेशबाट मुक्ताकुमारी यादव, मुस्लिम समुदायबाट फरमुल्लाह मन्सुर, थारु समुदायबाट योगेन्द्र चौधरी र पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा निर्वाचित हुनुभएको छ।

सभापतिमा चुनिएपछि गगन थापाले पार्टीप्रति विश्वास राखेका कार्यकर्तालाई धन्यवाद दिँदै कांग्रेसको प्रतिष्ठा जोगाउने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले नेपाली कांग्रेसको नाम लिँदा गर्व महसुस हुने बताउँदै आफ्नो नेतृत्वमा कसैको शिर नझुक्ने गरी काम गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । नेपाल र कांग्रेस दुवै चुनौतीको समयबाट गुज्रिरहेको उल्लेख गर्दै बाध्यताले विशेष महाधिवेशन गर्नुपरेको उहाँको टिप्पणी थियो ।


