चितवन खबर पोष्ट

नेकपा उम्मेदवार दाहालद्वारा बाँकी विकास योजनालाई संघीय संसदबाट पूर्णता दिने प्रतिबद्धता (भिडियो)

२३ माघ, माडी । नेपाली कम्युनिष्ट पार्टीबाट चितवन क्षेत्र नं. ३ का प्रतिनिधिसभा उम्मेदवार रेनु दाहालले ‘भरतपुर महानगरपालिकाको नेतृत्व गर्दा विकास निर्माणमा धेरै काम गरेपनि कानुनी अड्चनका कारण पुरा हुन बाँकी रहेका कामहरु संघीय संसदका रुपमा पुरा गर्ने’ बताउनुभएको छ ।

भरतपुर क्षेत्रमा भएको चुनाबी घरदैलोका क्रममा शुक्रबार बोल्दै दाहालले ‘भरतपुर महानगरपालिकाको नेतृत्वमा अर्बौँ रुपैयाँका बाटाघाटा निर्माण गरिएको र ठूला परियोजनाहरू केन्द्रीय बजेटबाट ल्याएर कार्यान्वयन गरिएको’ उल्लेख गर्नुभयो । ‘स्थानीय तहमा नेतृत्व गर्दा यति धेरै बजेट ल्याएर काम गर्न सकेको अवस्थामा केन्द्रमा गएर अझ धेरै काम गर्न सकिने’ उनको भनाइ थियो ।

उहाँले ‘भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि आफ्नो कार्यकालमा लगत संकलन, नापजाँच तथा निस्सा प्रमाण वितरणको काम भएको’ बताउनुभयो । ‘केही कानुनी जटिलताका कारण सो प्रक्रिया रोकिएकोमा त्यसलाई नीतिगत तहमा समाधान गर्न केन्द्रमा भूमिका खेल्ने’ उहाँको प्रतिबद्धता थियो ।

आफूलाई “कामले प्रमाणित भएको नेतृत्व” दाबी गर्दै ‘निर्वाचन क्षेत्रको समस्याको अवस्था र समाधानको बाटो स्पष्ट थाहा भएको’ उहाँले जिकिर गर्नुभयो । ‘बोल्नेभन्दा काम गरेर देखाउने नेतृत्व आवश्यक रहेको’ उहाँको भनाई थियो ।

तपाईको प्रतिक्रिया