चितवन खबर पोष्ट

‘माडीका सुकुम्बासी, दलित, किसान र निकुञ्ज सम्बन्धी मुद्दाहरू संसदमा उठाउँछु’: गौतम (भिडियो)

२६ माघ, माडी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सोविता गौतमले ‘माडीका सुकुम्बासी, भूमिहीन दलित, किसान र निकुञ्ज सम्बन्धी मुद्दाहरू संसदमा उठाउने’ बताउनुभएको छ ।

चुनाबी घरदैलोका क्रममा माडीको बरुवा बजारस्थित बुद्धचोकमा बोल्दै पूर्व सांसद समेत रहनुभएका रास्वपा नेतृ गौतमले ‘अप्ठ्यारोमा परेका मुद्दाहरूलाई राष्ट्रिय राजनीतिमा कानुनका माध्यमद्वारा गाँठाहरू फुकाउने र त्यसपछि विकास निर्माणका ढोकाहरू खोल्ने’ बताउनुभएको हो ।

गौतमले ‘राष्ट्रिय निकुञ्ज ऐन संशोधन गरी माडीबासीको “बाँच्न पाउने अधिकार” सुनिश्चित गर्नुपर्ने बताउँदै मध्यवर्ती क्षेत्र (बफर जोन)का बासिन्दाले पाउनुपर्ने अधिकार र सुविधाका विषयमा संसदमा आवाज उठाउने’ प्रतिबद्धता जनाउनुभएको हो ।

उहाँले ‘माडीबासीले धेरै पटक नारा र आश्वासन मात्र सुनेको’ उल्लेख गर्दै ‘अब परीक्षण गर्ने समय सकिएको’ बताउनुभयो । “भ्रष्टाचार र घुसको भार नबोकेका इमानदार युवा राष्ट्रिय राजनीतिमा आएका छन् । यसपटक विश्वास गरेर जिताएर पठाउनुभयो भने सुकुम्बासी, भूमिहीन दलित, किसान र निकुञ्जसँग जोडिएका सबै समस्याले न्याय पाउनेछन्,” उहाँले भन्नुभयो ।

सोमबार बिहान माडी आइपुग्नुभएका गौतमलाई माडीका रास्वपा नेता कार्यकर्ताहरुले फुलमाला र पञ्चेबाजा सहित स्वागत गरेका थिए । गौतमले माडी बनकट्टाबाट घरदैलो भेटघाट सुरु गरी वडा नं. १ र २ का विभिन्न गाउँटोलमा मतदाताहरुसंग भेट गर्नुभयो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार