२६ माघ, माडी । श्रमसंस्कृति पार्टीबाट चितवन-३ का उम्मेदवार तोजमान (पारस) गुरुङले माडी क्षेत्रमा चुनाबी घरदैलो सुरु गर्नुभएको छ । गुरुङले पार्टी अध्यक्ष हर्क साम्पाङकै शैलीमा हातेमाइक भिरेर मतदाताहरुसंग श्रमदान र श्रमसंस्कृतिबारे कुरा गर्दै मत माग्नुभएको हो ।
यसैबिच, बसन्तपुर बजारमा श्रमसंस्कृति पार्टीको कोणसभामा रास्वपा उम्मेदवार लक्षित कडा कटाक्ष गरिएको छ । उम्मेदवार पारस गुरुङको तर्फबाट बोल्दै वक्ताले अघिल्लो पटक निर्वाचित भएर गएका प्रतिनिधिले आफ्नो क्षेत्र र नागरिकका लागि के कस्तो काम गरे भन्ने प्रश्न उठाएका हुन् ।

माडी क्षेत्रमा भ्रम छर्ने उद्देश्यसहित बाहिरबाट गाडीका लावालस्कर ल्याएको टिप्पणी गर्दै वक्ताले “यसअघि निर्वाचन जितेको क्षेत्रका लागि, त्यहाँका नागरिकका लागि के गर्नुभयो? कुन कार्यनीति निर्माण गर्नुभयो र हामीले तपाईंलाई मतदान गर्ने ?” भन्दै मतदातालाई सचेत भएर निर्णय गर्न आग्रह गरेका थिए ।

वक्ताले माडी आज पनि विकासको अभावमा रोइरहेको अवस्था चित्रण गर्दै भने, “माडीको विकास हुन सकेन, माडीका समस्या ज्यूँका त्यूँ छन् । त्यसैले माडीकै धर्तीपुत्र, माडीकै नागरिक पारस गुरुङलाई अगाडि ल्याइएको हो ।” उनले बाहिरी प्रभाव र भ्रमबाट प्रभावित नहुन माडीवासीलाई आग्रह गर्दै विकास र उत्तरदायित्वका आधारमा मतदान गर्न अनुरोध गरेका हुन्।

