९ फागुन, माडी । माडीको विकासका राप्ती नदीमा पुलको निर्माण महत्वपूर्ण कोशेढुंगोका औंल्याउँदै नेपाली कांग्रेसले चुनाबी अभियान चलाएको छ ।
नेपाली कांग्रेस माडी नगरसमितिले आयोजना गरेको महिला भेलालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्यका उमेदवार टेकप्रसाद गुरूङले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफ्नो कार्यकालमा पूर्वाधार विकासलाई आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा स्थापित गरेको बताउनुभयो । कोइरालाकै पहलमा राप्ती नदीमाथिको पुल बनिसकेपछि अन्य विकासका कामहरुले तीव्रता पाउन थालेको उनले बताउनुभयो ।

त्यसअघि गर्भवती तथा सुत्केरी महिलालाई आकस्मिक अवस्थामा अस्पताल पुर्याउन कठिन हुने गरेको भन्दै उहाँले बाढीका बेला नदी तर्न जोखिम मोल्नुपर्ने अवस्था अन्त्य भएपछि मातृ तथा शिशु स्वास्थ्यमा सकारात्मक सुधार आएको पनि औंल्याउनुभयो । सुक्रमिया महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माडी क्षेत्रहरुका अगुवा महिलाहरुको सहभागिता रहेको थियो ।

यसैबिच, गुरूङले माडी क्षेत्रमा चुनाबी घरदैलो गर्नुभएको छ । गुरुङले माडी नगरपालिका वडा नं. १ र २ का बनकट्टा, सेरुवा, गर्दी, जीवनपुर, भैरवपुर लगायतका सबैजसो स्थानमा घरदैलो गर्दै मतदाताहरुसंग कुराकानी गर्दै भोट माग्नुभएको हो । पटक पटक जिल्ला विकास समिति चितवनका सभापति रहिसक्नुभएका गुरुङसंगै नेपाली कांग्रेस माडी र चितवनका नेता कार्यकर्ताहरुले घरभेट गरेका हुन् ।


