१९ फागुन, माडी । चितवन राष्ट्रिय निकुञ्जभित्र घाँसे मैदान व्यवस्थापन गर्न नियन्त्रित डढेलो लगाउन सुरु भएको छ । वर्षायाममा घाँसे मैदानमा बढेका ढड्डी घाँस, अतिक्रमित झार फैलिन नदिई नियन्त्रित डढेलो लगाउन सुरु गरिएको निकुञ्ज प्रशासनले जनाएको हो ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार निकुञ्जका घाँसे मैदानमा प्रत्येक वर्ष नियन्त्रित डढेलो लगाउने गरिन्छ । हाल भिम्ले, सुखिभार र कसरा क्षेत्रमा नियन्त्रित डढेलो लगाउन सुरु गरिएको उहाँले जानकारी दिनुभयो । क्रमश: अन्य क्षेत्रमा पनि नियन्त्रित डढेलो लगाइने उहाँले बताउनुभयो ।

नियन्त्रित डढेलो लगाउन निकुञ्जका ३० जना कर्मचारी खटिएका छन् । यसले वन र वन्यजन्तुमा ठुलो असर नपर्ने र घाँसे मैदान व्यवस्थापनमा सहयोग पुग्ने उहाँले बताउनुभयो । घाँसे मैदानलाई खण्ड खण्ड बनाइ डढेलो लगाइने यसका लागि करीब एक महिना लाग्ने उहाँले जनाउनुभयो । (सांकेतिक फोटो)



