१९ फागुन, माडी । चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने बनकट्टा पोष्ट अगाडिको सडकमा मोज्याक टायल बिछ्याउने काम पुरा भई मोटरसाइकल (दुइ पाङ्ग्रे सवारी साधन) सञ्चालनका लागि खुला भएको छ । अब एक साताभित्र अन्य सवारी साधनका लागि समेत खुला गर्ने तयारी गरिएको जनाइएको छ ।
तीन पटक उक्काएर पुनः बिछ्याउने प्रक्रियापछि टायल जडान कार्य पुरा भएको योजना उपभोक्ता समितिका अध्यक्ष एवं जेनजी माडीका संयोजक भरत ढकालले बताउनुभयो । हालको परीक्षण असफल मानी सडक पास नभएमा पुनः आन्दोलनका कार्यक्रम अघि बढाइने उहाँले चेतावनी दिनुभयो ।

गत माघमा सुरु गरिएको यस ‘ट्रायल प्रोजेक्ट’ अन्तर्गत बनकट्टा पोष्ट नजिकको करिब ४० मिटर सडकखण्डमा मोज्याक टायल बिछ्याइएको हो । माडी नगरपालिकाको लागत सहयोग तथा जेनजी युवाहरूको पहलमा काम अघि बढाइएको थियो ।

गत भदौमा भएको ‘जेनजी आन्दोलन’पछि नगरपालिकाले सडक धुलोरहित बनाउने उद्देश्यले ५ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । पहिलो चरणको परीक्षण सफल भएपछि थप सडक खण्डमा समेत मोज्याक टायल विस्तार गर्ने तयारी रहेको जनाइएको छ ।


