चितवन खबर पोष्ट

रङहरूको पर्व होली चितवन सहित तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइयो

१९ फागुन, माडी । रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज उल्लासमय वातावरणमा यो पर्व मनाइएको हो ।

माडी सहित चितवन जिल्लामा पनि मंगलबार (आज) नै होली मनाइँदैछ । निर्वाचनको मौन अवधी समेत रहेको अवस्थामा विगतजस्तो धूमधाम नभएपनि आफन्त, साथी र घरपरिवार मिलेर नाँचगान गर्दै अबीर लगाई होली खेलिएको देखिन्छ । सबै प्रकारका भेदभावलाई बिर्सेर एक(अर्कालाई रङ हाल्दै आपसी भ्रातृत्व र खुसी साटासाट गर्ने यो पर्वलाई सामाजिक सद्भावको प्रतीक मानिन्छ ।

होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन प्रहरीले अपरिचित व्यक्तिसँग होली नखेल्न, कसैको इच्छाविपरीत रङ नलगाउन, रसायनयुक्त रङको प्रयोग नगर्न र मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया