२३ फागुन, माडी । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर ५ बाट रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) निर्वाचित हुनुभएको छ। अन्तिम मतपरिणाम अनुसार वरिष्ठ नेता शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो।
उहाँले केपी शर्मा ओली लाई पराजित गर्नुभएको हो। एमाले अध्यक्ष समेत रहनुभएका पूर्वप्रधानमन्त्री ओलीले १८ हजार ७२४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। शाह र ओलीबीच ४९ हजार ६१४ मतको फराकिलो अन्तर रहेको छ।

यस वर्षको प्रतिनिधिसभा निर्वाचनमा झापा–५ सबैभन्दा बढी चर्चामा रहेको निर्वाचन क्षेत्र बनेको थियो। काठमाडौं महानगरपालिकाका पूर्वमेयर शाहले उम्मेदवारी दिनुहुँदा उहाँ र एमाले अध्यक्ष ओलीबीचको प्रतिस्पर्धालाई लिएर राष्ट्रिय राजनीतिक वृत्तमा व्यापक चर्चा भएको थियो ।

३६ वर्षीय बालेन्द्र शाह सिभिल इन्जिनियर हुनुहुन्छ। २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरपालिका को मेयरमा निर्वाचित भएपछि उहाँ राष्ट्रिय राजनीतिमा एकाएक चर्चाको केन्द्रमा पुग्नुभएको हो। अहिले उहाँको राजनीतिक उदयलाई नयाँ पुस्ताको राजनीतिक सहभागितासँग जोडेर पनि हेरिएको छ।


