२३ फागुन, माडी । नेकपाबाट चितवन-३ का चुनाबी प्रत्यासी रेणु दाहालले प्रतिनिधिसभा निर्वाचनमा प्राप्त जनमतप्रति सम्मान व्यक्त गर्दै विजयी उम्मेदवारलाई बधाई दिएकी छन्।
दाहालले फेसबुक पोष्ट गर्दै आफूले कामद्वारा जनताको मन जिते पनि मत जित्न नसकेको प्रतिक्रिया दिंदै विजयी उम्मेदवार सोविता गाैतमलाई बधाई दिँदै चितवनवासीको मत खेर नजाने विश्वास व्यक्त गरिन्।

जनताका सपना, आवश्यकता र चाहनाहरू पूरा गर्नु नै आफ्नो सपना रहेको उनले बताएकी छन्। झन्डै ३० वर्ष लामो राजनीतिक जीवनमध्ये भरतपुरको विकास, समृद्धि र सुशासनका लागि आफूले ऊर्जाशील ९ वर्ष समर्पित गरेको उनले उल्लेख गरेकी छन्।

दाहालले विकासका लागि जनताका पक्षमा प्रभावकारी नीति–नियमको अभाव हुँदा काम गर्न असहज भएको अनुभवका आधारमा प्रतिनिधिसभामा पुगेर नीति निर्माणमा काम गर्ने उद्देश्यले नगरप्रमुखको १५ महिने कार्यकाल बाँकी रहँदै चुनावमा उम्मेदवारी दिएको बताइन्।
साथै उनले चुनावी अभियानका क्रममा निरन्तर सक्रिय भएर सहयोग गर्ने पार्टीका नेता–कार्यकर्ता, समर्थक, शुभेच्छुक, मिडियाकर्मी तथा कलाकारप्रति आभार व्यक्त गरेकी छन्। आगामी दिनमा पनि चितवनवासीको हक–हित, विकास र समृद्धिका लागि आफू निरन्तर साथमा रहने उनले प्रतिबद्धता व्यक्त गरेकी छन्।


