२३ फागुन, माडी । चितवन ३ मा यसअघिको निर्वाचनमा विजयी राप्रपा सहित ठूला दलहरू नेपाली काँग्रेस र नेकपा एमालेको जमानत जफत भएको छ । राप्रपा उम्मेदवार दिपक थापामगर, कांग्रेस उम्मेदवार टेकप्रसाद गुरूङ र एमाले उम्मेदवार शंकरराज थपलिया सहित अन्य उम्मेदवारहरूको जमानत जफत भएको हो ।
नेपालको निर्वाचन कानुन अनुसार, कुनै पनि तहको निर्वाचनमा उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा खसेको कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेमा निजले राखेको धरौटी (जमानत) जफत हुन्छ। हालको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्येक उमेदवारले १०,००० रुपैयाँ धरौटी राखेका थिए ।

निर्वाचनमा कुल सदर मतको १० प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गरेमा, उमेदवार विजयी भएमा, निर्वाचन अधिकृतले उम्मेदवारी फिर्ता लिन तोकेको समयभित्रै आफ्नो नाम फिर्ता लिएमा, उम्मेदवारको मनोनयनपत्र बदर/खारेज भएमा वा मतदान हुनुभन्दा अगावै उम्मेदवारको मृत्यु भएमा जमानत फिर्ता हुन्छ । जमानत जफत हुनुलाई राजनीतिक रूपमा “अलोकप्रिय” मानिन्छ। यसले उक्त क्षेत्रमा उम्मेदवार वा सम्बन्धित दलको पकड अत्यन्त कमजोर रहेको सङ्केत गर्छ।



