माडीको एक प्रतिनिधीमण्डलद्वारा प्रचण्डसंगै उर्जा र शिक्षामन्त्रीसंग भेट

140
SwadeshPost

माडी नगरपालिकाका वडाध्यक्षहरु सम्मिलित एक प्रतिनिधीमण्डलले राजधानी काठमाडौंमा पूर्व प्रधानमन्त्री र मन्त्रीहरुसंग भेटघाट गरेको छ ।

वडा नं. १ का वडाध्यक्ष कृष्ण प्रसाद पौडेल, वडा नं. २ का वडाध्यक्ष ईश्वरी ढकाल, नेपाल कम्युनिष्ट पार्टी माडीका नेता दण्डपाणी पौडेल, गर्दी सामुदायिक पुस्तकालयका अध्यक्ष भरत तिमिल्सिना, शहीद स्मृति प्रतिष्ठान माडीका अध्यक्ष माधव पौडेल लगायतको प्रतिनिधीमण्डलले आज उच्चस्तरीय भेटवार्ता गरेको हो । टोलीले मंगलबार नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहनुभएका पूर्व प्रधानमन्त्री तथा चितवन क्षेत्र नं. ३ का संघीय साँसद पुष्पकमल दाहालसंग भेटघाट गरेको हो । भेटमा अध्यक्ष दाहाललाई माडीको समग्र विकास निर्माण र हाल देखिएको जटिलताका बिषयमा कुरा राखिएको जनाइएको छ ।

प्रतिनिधीमण्डलले शिक्षामन्त्री गिरीराजमणी पोखरेलसंग भेटघाट गरी दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय स्थापनाका लागि तीनवटा ठाउँहरुमा ५ बिगाहाभन्दा बढी जमीन प्राप्त भएको जानकारी गराएको थियो । भेटमा, शिक्षामन्त्रीले प्राविधिकहरुले उचित ठानेको स्थानमा शिक्षालय स्थापना हुने भनाइ राख्नुभएको प्रतिनिधीमण्डलका एक सदस्य तथा वडाध्यक्ष इश्वरी ढकालले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

त्यसैगरी टाेलीले उर्जामन्त्री बर्षामान पुन अनन्तसंग पनि भेटघाट गरि माडीको ६५ प्रतिशत उपभोक्ताहरुमा बिजुली नपुगेको जानकारी गराएको छ । हाल बिजुली नपुगेका ठाउँहरुमा बिजुली बिस्तार गर्न नेपाल बिद्युत प्राधिकारणको भरतपुर वितरण केन्द्रले उपलब्ध गराएको ३ करोड ४१ लख रुपैंयाको लागत इष्टिमेट मन्त्रीलाई दिइएको र उर्जामन्त्रीले तत्काल यो काम थाल्ने प्रतिबद्धता गर्नुभएको टोलीले जनाएको छ । टोलीले गृहमन्त्री राम बहादुर थापा बादलसंग पनि भेटघाट गरी माडीमा बिपद् व्यवस्थापनको दीर्घकालीन र भरपर्दो योजना ल्याउन आग्रह गरेको छ भने आज विभिन्न मन्त्रालयका सचिव तथा उच्च पदस्थ कर्मचारीहरुसंग भेटघाट हुने माडी नगरपालिकाका अर्का वडाध्यक्ष कृष्ण पौडेलले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

SwadeshPost