घाँटीको क्यान्सर पीडित संरक्षणकर्मी तथा माडीका बामपन्थी नेता यमकान्त भुसालको उपचार सहयोगको अभियानका क्रममा संकलित थप रकम आज (बुधबार) हस्तान्तरण गरिएको छ । भुसालको उपचार सहयोगार्थ रविन्द्र सिह ठकुरी, उमाकान्त शर्मा, हरिराम रेग्मी, भीमलाल पाठक, केशव ढकाल, शालिग्राम सापकोटा लगायतले सामाजिक सञ्जालहरुमार्फत अभियान सञ्चालन गरिरहनुभएकोमा पछिल्लो चरणमा संकलित १४ हजार ५५५ रुपैंया पीडित भुसाललाई हस्तान्तरण गरिएको हो । भुसालको उपचारमा सघाउन सामाजिक संजाल मार्फत अभियान संचालन गर्ने अभियन्ताहरुका प्रमुख रविन्द्र सिह ठकुरीले आज भुसालो निवास माडी नगरपालिका वडा नं. १, कल्याणपुर पुगी रकम हस्तान्तरण गर्नुभएको पीडितका भाई गंगा भुसालले जानकारी दिनुभयो । यसअघि, उहाँहरुको टोलीले स्वदेश र प्रवासमा रहेका सहयागीहरुबाट संकलित रकम रु १ लाख ६४ हजार ७२७ गत असोज २ गते बरुवा बजारमा हस्तान्तरण गरेको थियो ।









