

माडी क्याम्पसका स्थापनाकालदेखिका अध्यापक स्वर्गिय हरिप्रसाद पाठकको स्मरणमा बुधबार क्याम्पस परिसरमा श्रद्धाञ्जली तथा शोक सभा सम्पन्न भएको छ । क्याम्पस प्रमुख नेत्रप्रसाद गौतम, क्याम्पसका पूर्व प्रमुख घनश्याम भण्डारी, विभागीय प्रमुखहरु र क्याम्पसका शिक्षक अध्यापकहरुसंगै बिद्यार्थीहरु सहभागी रहेको सो कार्यक्रममा स्वर्गिक पाठकको शैक्षिक तथा सामाजिक योगदानहरुको स्मरण गरिएको थियो । कार्यक्रममा स्वर्गिय पाठकको स्मरणमा एक मिनेट मौनधारण समेत गरिएको थियो ।

बुबा जनार्दन पाठक तथा आमा नैनकला पाठकको कोखबाट २०१४ साल असोज २९ गते बाग्लुङ् जिल्लाको पैंयुपाटा वडा नं. २, अम्बोटमा जन्मनुभएका उहाँले बाग्लुङकै त्रिभुवन माध्यमिक बिद्यालयबाट प्रवेशिक्षा तथा बीरेन्द्र क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण भई माडीको जनजीवन मा.बि., हरिनगर आधारभूत विद्यालय, तात्कालीन रमाइलोडाँडा आधारभूत विद्यालय र माडी माध्यमिक विद्यालयमा अध्यापन गर्नुभएको थियो । स्व. पाठक संस्थापक प्रधानाध्यापक हुनेगरी जनकल्याण माध्यमिक विद्यालय स्थापना भएको थियो भने उहाँ माडी क्याम्पसको संस्थापक अध्यापक समेत रहनुभएको थियो । उहाँको २ छोरा तथा १ छोरीबाट हाल २ जना नातीनातीना रहेका छन् ।

