बाँदरमुढे पीडितहरुद्वारा प्रचण्डलाई स्वागत, तीन बुँदे सहमतीपत्रमा हस्ताक्षर

550
SwadeshPost

प्रतिनिधी एवं प्रदेशसभा निर्वाचनको सान्निध्यमा नेकपा (माओवादी केन्द्र) र बाँदरमुढे घटना पीडित परिवारबिच तीनबुँदे सहमतीपत्रमा हस्ताक्षर भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पिडीतहरुसंग आज चितवनको माडीमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

आइतबार माडीमा आयोजित सभामा जाने क्रममा माडी नगरपालिकाको रोहवरमा नगरपालिका कार्यालयमै माओवादी अध्यक्ष प्रचण्डले पिडीत २९ जनाका विचमा तीनबुँदे सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

सम्झौताको पहिलो बुँदामा मृतकका आश्रित परिवारलाई अवस्था हेरी काम गर्न सक्नेलाई रोजगारी, नसक्नेका लागि जीवनवृत्ति, वालवालिकाको पठनपाठनको व्यवस्था गर्ने उल्लेख छ । त्यस्तै दोश्रो बुँदामा घाइतेको औषधी उपचारको व्यवस्था तथा काम गर्न सक्नेलाई रोजगारी र नसक्नेलाई जीवनवृत्तिको व्यवस्था गर्ने सम्झौता गरिएको छ ।

त्यसैगरी तेस्रो बुँदामा घटनामा ज्यान गुमाएकाको सम्झनामा करीब १० विगाहा क्षेत्रमा पार्क बनाउने र त्यसलाई युद्ध पर्यटनका रुपमा विकास गर्ने उल्लेखित छ । सम्झौतापत्रमा बाँदरमुढे पिडीतहरुका प्रतिनिधीका रुपमा विकास लामिछाने, कृण्ण तिवारी, कृष्ण आचार्य, हरी न्यूरे (सुदिप) र मंगली पुनले सम्झौता गरेका छन् ।

सम्झौतापछि पीडितहरुलाई माओवादी अध्यक्ष प्रचण्डले सम्झौता पूर्णरुपमा पालना हुनेमा विश्वास दिलाएका थिए । सम्झौता गदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पिडितहरुसंग भएको सम्झौता पुर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै उनले केहि तत्व अझै पनि खेल्न सक्ने भन्दै अब पिडित र आफुहरु मिलेर सहकार्य गर्ने बताए । घटनालाई अतिरन्जीत गर्ने तत्वहरुको एकजुट भए सामना गर्ने उद्घोष पनि गरेका थिए । पिडीत विकास लामिछानेले जसले घटना गराएको हो उसैवाट मात्रै मल्हम खोज्दै आफुहरुले सम्झौता गरेको र पालना हुनेमा पूर्ण विश्वस्त रहेको बताएका छन् । यता, आजको प्रचण्डको स्वागतमा वाम गठबन्धनको समर्थक रहेका बाँदरमुढे पीडितहरु रहेको र सम्झौतामा आफ्नो सहभागिता रहेपनि स्वागत कार्यक्रममा सहभागिता नरहेको अर्का पीडित हरि निउरे (सुदीप)को भनाई छ ।

यसअघि प्रचण्डले माडीमा ६० लाखको राहत प्याकेज घोषणा गरेका भएपनि कार्यान्वयनमा आउन सकेको थिएन् । दुई साता अघि मात्रै प्रचण्डले बाँदरमुढे स्मारकमा आफै एकाबिहानै पुगेर माल्यार्पण गरेका थिए । यो जनयुद्धको सबैभन्दा ठुलो भुल भएको स्वीकार समेत गर्दै आएका छन् ।

SwadeshPost