देश-प्रदेश खबर पोष्ट

ठोरी कांग्रेस सभापति सन्तोष श्रेष्ठ रास्वपामा प्रवेश, ३५० जना कार्यकर्ता पनि समेटिए

१९ माघ, माडी । पर्साको ठोरी गाउँपालिकाका नेपाली कांग्रेस पालिका सभापति सन्तोष श्रेष्ठ, नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गर्नुभएको छ । सोमबार ठोरी गाउँपालिका वडा नम्बर ४ विजयबस्तीमा आयोजित रास्वपाको कार्यक्रममा श्रेष्ठसहितका व्यक्तिहरू रास्वपामा प्रवेश गरेका हुन्।

कार्यक्रममा पर्सा क्षेत्र नम्बर ४ का रास्वपाका उम्मेदवार टेकबहादुर शाक्य, केन्द्रीय सदस्य डा. नन्दन यादवलगायतले नवप्रवेशीहरुलाई अबिर टीका लगाएर पार्टीमा स्वागत गरेको रास्वपाका ठोरी गाउँपालिका सभापति माधव बस्नेतले बताउनुभयो ।

कांग्रेस परित्याग गर्ने निर्णयबारे बोल्दै श्रेष्ठले कांग्रेस पुरातन सोच र यथास्थितीमै अडिएको तथा परिवर्तनलाई स्वीकार्न नसकेको बताउनुभयो। पर्सा क्षेत्र नम्बर ४ मा कांग्रेसले विगतदेखि एउटै उम्मेदवार (रमेश रिजाल)लाई निरन्तर अघि सार्दै आएको भन्दै यसपटक नयाँ अनुहारलाई अवसर दिन सुझाव दिँदासमेत नसुनेपछि आफू पार्टी छाड्न बाध्य भएको उहाँको भनाइ छ।

देशमा परिवर्तन आवश्यक भइसकेको र युवालाई अवसर दिने पार्टी रास्वपा भएकाले आफूले यही पार्टी रोजेको श्रेष्ठले बताउनुभयो। उहाँको प्रवेशपछि पर्सा क्षेत्र नम्बर ४ मा कांग्रेस उम्मेदवारलाई असर पर्ने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया

ताजा समाचार