प्रतिनिधीसभा निर्वाचनमा देखिएका केहि अनपेक्षित र चर्चित प्रसंगहरु

563
SwadeshPost

नयाँ संविधान संस्थागत गर्दै संक्रमणकालको अन्त्य गराउन भएको प्रतिनिधीसभा एवं प्रदेशसभाको निर्वाचनको मतपरिणाम सार्वजनिक हुँदैगर्दा केहि चर्चित, अनपेक्षित र रोचक नतिजाहरु देखिएका छन् । सञ्चारपाटी अनलाइनले त्यस्ता केहि प्रसंग र घटनाहरु संकलित गरी यहाँ प्रकाशित गरेको छ ।

वागी बनेर जितेपछि पार्टीमा फर्किए लामा

प्रतिनिधीसभा सदस्यका लागि हुम्लामा माओवादी केन्द्रका वागी उम्मेरदार छक्क बहादुुर लामाले संयुक्त वाम गठबन्धनका आधिकारिक उम्मेदवार छिमी दोर्जी लामासंगै नेपाली काँग्रेसका उम्मेदवारलाई निकै पछाडि पार्दै विजयी बने । विजयी भएलगत्तै लामाले पुनः माओवादी केन्द्रमै फर्किएको घोषणा पनि गरे । स्वतन्त्र उम्मेदवारका रुपमा विजयी भएर माओवादी साँसद बनेका छक्क बहादुुर लामा देशभर चर्चाको बिषय बनिरहेका छन् ।

टेलिभिजनलाई काँग्रेस नेता सिंहको गाली

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो विजय घोषणा लगत्तै एक टेलिभिजनलाई गाली गरेको बिषय चर्चित बनेको छ । राती सवा २ बजे मतगणनास्थल राष्ट्रिय सभागृहबाट लाइभ प्रसारण गरिरहेको सो निजी टेलिभिजनले उनको अन्तरवार्ता लिने प्रयास गर्नासाथ चुनावका बेलामा सो टीभीले ‘बायस न्युज’ दिएको भन्दै उनले औलो ठड्याउँदै गाली गरे । त्यहाँबाट पिठ फर्काएर हिँडेका उनले अर्को निजी टीभीका पत्रकारलाई भने सामान्यरुपमा कुराकानी गरेको बिषय मिडियाकर्मीहरुबिच चर्चित बनेको छ ।

देवयानी, पशुपति शमशेर र युवाहरुको ग्याङ्फाइट

सिन्धुपाल्चोक जिल्लामा राजनैतिक विरासत कायम राखेका राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमसेर जबरालाई उनका चीरकालीन प्रतिद्वन्दी शेरबहादुर तामाङले पराजित गरेका छन् । योसंगै अध्यक्ष जबराको पराजयको ह्याट्रिक भएको छ । उनलाई सघाउन भारतमा बसिरहेकी उनकी छोरी तथा पूर्व युवराज दीपेन्द्र शाहकी प्रेमिका देवयानी राना सिन्धुपाल्चोकमा खटिएको बिषय पनि देशभर समाचार बनेको थियो । सो जिल्लाको क्षेत्र नं. १ मा काँग्रेसका मोहन बहादुर बस्नेतलाई १० हजार ७ सय ६ मतको फराकिलो अन्तरले वाम उम्मेदवार अग्नी सापकोटाले पराजित गरेको बिषय तथा बस्नेत र सापकोटाका युवाहरुबिच निर्वाचनअगाडि लगातारजसो विवाद एवं झडप भइरहँदा स्थानीय प्रशासनलाई टाउको दुखाई बनिरहेको काण्ड सर्वत्र चर्चित बनेको थियो ।

जारी मतगणनाको सर्वाधिक मतान्तर

उता, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना चलिरहदा अहिलेसम्मकै सबैभन्दा ठूलो ३० हजार १५३ मतान्तर सहित दोलखामा एमाले नेता पार्वत गुरुङ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । उनले ५५ हजार ९५४ मत पाएर बिजयी हुँदा प्रतिस्पर्धी कांग्रेसका रुद्रबहादुर खड्काले २५ हजार ८०१ मत पाएका छन् । फराकिलो मतान्तरसहित जीत हासिल गरेका उनी राष्ट्रिय चर्चाको बिषय बनिरहेका छन् ।

लालबाबु पण्डित, डा. शेखर कोइराला र साइकल

नेपाली काँग्रेसको सदाबहार राजनैतिक विरासत प्राप्त मोरङको निर्वाचन क्षेत्र नं. ६ मा कोइराला खानदानका डा. शेखर कोइरालासंग पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित उम्मेदवार खडा भएपनि सो क्षेत्र पहिले नै चर्चित थियो । यसै सन्दर्भमा कोइरालाले पण्डितलाई नचिन्ने बताएको किस्साले बजार तताइरहँदा अनपेक्षित नतिजासहित वाम उम्मेदवार पण्डितले कोइरालालाई हराएका छन् । त्यसपछि पण्डितले कोइरालाको घरमा फोन गरी समय मागेर साइकल चढी पुगेर आफूलाई चिनाउने कुरा बताए, जुन चुनावी समयको गरमागरम खबर बनिरहेको छ ।

डन दीपक मनाङे बने प्रदेशसभा साँसद

सुरुवातमा नेकपा एमालेबाट प्रदेशसभाका लागि सर्वसम्मत सिफारिस भएका गुण्डा नाइके रावीज गुरुङ उर्फ दीपक मनाङे पछि स्वतन्त्र हैसियतमा चुनावी मैदानमा उत्रिएर माननीय बनेको खबर समेत चर्चित रह्यो । गुण्डालाई उम्मेवार बनाएको भनी एमालेको आलोचना भएपछि मध्यरातमा उनको उम्मेदवारी खारेज गरेको एमालेको नाममात्रको घोषणा पनि चर्चित बनेको थियो ।

SwadeshPost