

माडी, चितवन । बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८२/८३ मा सोमेश्वरगढीमा भौतिक निर्माण एवं सडक विकासका लागि ३ करोड ६५ लाख रुपैंया विनियोजन गरेको छ ।
बहुबर्षिय योजनाका रुपमा रहेको सोमेश्वरगढी जाने सडकको बाँकी खण्ड ढलान एवं नाला निर्माणका लागि प्रदेश सरकारबाट सो रकम विनियोजन भएको बागमती प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकालले बताउनुभयो । चालू आर्थिक बर्ष २०८१/८२ मा सो सडक ढलानका लागि प्रदेश सरकारले ८ करोड ६७ लाख रूपैंया बजेट राखेकोमा कार्यसम्पन्न भइसकेको छ ।

मुख्यतः प्रदेश सरकारको लगानीमा सोमेश्वरगढी क्षेत्रले मुहार फेर्दै हाल माडीको प्रमुखतम् पर्यटकीय गन्तव्यस्थलको परिचय बनाएको छ । ऐतिहासिक एवं धार्मिकस्थल समेत रहेको सो क्षेत्रमा सडक सञ्जाल विस्तार भएसँगै यातायातको सुविधाका कारण घुमफिर, पिकनिक र मन्दिर दर्शनका लागि आउने पर्यटकको संख्या बढेको हो ।

नेपाल सरकारले सोमेश्वरगढीलाई देशको १०० पर्यटकीय गन्तव्यस्थलहरुको सूचीमा समावेश गरेसँगै सोेमेश्वरगढीमा देशकै ध्यान तानिएको छ । सोमेश्वर पर्वत नेपाल–भारत सिमानाको सबैभन्दा अग्लो शिखर हो र यसलाई तराईको सगरमाथाका रुपमा समेत चिन्ने गरिएको छ ।