

माडी, चितवन । माडीमा दुधबाट बन्ने मिष्ठान्न परिकारहरु बनाउने दुई हप्ते व्यवसायिक सिपमूलक तालिम सञ्चालन सुरु भएको छ ।
प्रदेश युवा परिषद् जिल्ला युवा समिति चितवनको आयोजनामा माडी-७, मोटेचोक (कीर्तनपुर)मा सञ्चालित सो तालिममा दुग्धजन्य परिकारहरु पनिर, रसवरी, लालमोहन, पेंडा, खुवा एवं मिष्ठान्न परिकार जेरी बनाउने तालिम सञ्चालन भएको हो ।

प्रदेश युवा परिषद् जिल्ला युवा समिति चितवनका अध्यक्ष रामचन्द्र लम्सालको अध्यक्षतामा सञ्चालन सुरु भएको सो तालिममा राम मिष्ठान्न भण्डार, नारायणगढका सिनियर हलुवाई (मिष्ठान्न परिकार बनाउने)ले प्रशिक्षण दिनेछन् ।

तालिममा माडीभरका २७ जनाको सहभागिता रहेको छ । शनिवार तालिमको समुद्घाटनमा माडीकै सर्बाधिक दुग्ध उत्पादनकर्ता रोचक गाई फर्मका सञ्चालक राजन पौडेलको प्रमुख आतिथ्य तथा बागमती प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकालको विशिष्ट आतिथ्य रहेको थियो ।
माडी नगरपालिकाले गौरवको योजनाका रुपमा सुरु गरेको सेतो माडी अभियानलाई समेत सहयोग पुग्नेगरी सो तालिम सञ्चालन गरिएको जिल्ला युवा समिति चितवनका अध्यक्ष लम्सालले बताउनुभयो । माडीमा पहिलोपटक सो खालको व्यवसायिक सिपमूलक तालिम सञ्चालन भएको हो ।