चितवन खबर पोष्ट

पूर्वी चितवनको राप्ती नगरमा भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु, २४ जना घाइते

माडी, चितवन — पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका-४ डडुवा भन्ने स्थानमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।

धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ३५८३ नम्बरको यात्रुबाहक बस र मकवानपुरबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ज २९९ नम्बरको ईभी गाडी ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो भने दुई जनाले उपचारको क्रममा ज्यान गुमाएका छन्। मृतक र घाइतेहरूको पहिचान खुलेको छ। शवहरू भरतपुर अस्पतालको शवगृहमा राखिएको छ। घाइतेहरूको भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ।

दुर्घटनाको सम्भावित कारण तीव्र गति र ब्रेक फेल भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको चितवनका प्रहरी प्रमुख गोविन्द पुरीले जानकारी दिए। दुर्घटनापछि केही समय सडक अवरुद्ध भए पनि अहिले आवागमन पुनः सुचारु गरिएको छ।

तपाईको प्रतिक्रिया

ताजा समाचार