चितवन खबर पोष्ट

चितवन राष्ट्रिय निकुञ्जभित्र बनकट्टा–कसरा सडक खण्डमा चौबिसै घण्टा सवारी सञ्चालन खुला

माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रको हुलाकी सडक (बनकट्टा–कसरा सडक खण्ड)मा चौबिसै घण्टा सवारी सञ्चालन खुला गरिएको छ । यसअघि सहमतीय ढंगले केहि खुला रहेपनि नीतिगत रुपमा राती १० बजेदेखि बिहान ६ बजेसम्म निकुञ्जभित्र सवारी सञ्चालनमा रोक लगाइएकोमा आज मंगलबार (असार १०) गतेबाट यो निर्णय लागू हुने भएको हो ।

वन तथा वातावरण मन्त्रालयको सहमती अनुसार निकुञ्ज कार्यालयले रातको समयमा मालबाहक सवारी साधन बाहेक अन्य चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा समयावधी र सुरक्षाको उचित व्यवस्था सहित बन्यजन्तुबाट हुनसक्ने जोखिमको जिम्मेवार स्वयं यात्रु तथा सवारी चालक हुने जानकारी गराई सवारी चल्न खुला गरिएको जानकारी दिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा.गणेश पन्तले हस्ताक्षर गर्नुभएको सूचनामा सवारीसाधन चालकलगायत सम्बन्धित सबैलाई वन्यजन्तु संरक्षण, सडक सुरक्षा र नियमको पालना गर्न विशेष अनुरोध समेत गरिएको छ ।

यसअघि गत २०८१ माघ २३ गते निकुञ्ज मुख्यालय कसरामा माडी र भरतपुरका जनप्रतिनिधि एवं निकुञ्ज र सुरक्षा संयन्त्रबिच सम्पन्न एक विशेष बैठकले सबैखाले सार्वजनिक सवारी साधन एवं चारपाङ्ग्रे निजी सवारी साधन (सुरक्षाका कारण मोटरसाइकल बाहेक)लाई २४सै घण्टा आवतजावत गर्न दिने निर्णय सहित मन्त्रालयलाई सिफारिस गरेको थियो ।

यस निर्णयले माडीबाट चौबिसै घण्टा आवतजावत खुला हुनुपर्ने स्थानीयबासीहरुको एक चाहना पुरा हुने भएको माडी नगरप्रमुख ताराकुमारी काजी महतोले बताउनुभयो । निकुञ्जभित्र बिजुली केबुल र सडक स्तरोन्नतिको प्रकृयामा भने निरन्तर पहल चलिरहेको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार