चितवन, २० कार्तिक, २०८३ । माडी नगरपालिकाले नगरपालिका क्षेत्रभित्र प्लास्टिक तथा अप्राकृतिक फूलको बिक्री–वितरणमा रोक लगाएको छ । वातावरणीय स्वच्छता कायम राख्ने, प्लास्टिकजन्य प्रदूषण न्यूनीकरण गर्ने, प्राकृतिक फूलको उत्पादन तथा प्रयोगलाई प्रोत्साहन गर्ने र स्थानीय कृषकको उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले सम्बन्धित व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई प्लास्टिक तथा अप्राकृतिक फूलको बिक्री–वितरण नगर्न र प्राकृतिक फूलको प्रयोगलाई प्राथमिकता दिन अनुरोध गरेको छ ।
नगरपालिका क्षेत्रभित्र कतै प्लास्टिक तथा अप्राकृतिक फूल बिक्री–वितरण गरेको पाइएमा वा त्यसबारे जानकारी भएमा नगर प्रहरी हवल्दार मनिष महतोको मोबाइल नम्बर ९८६५२३२२६७ मा खबर गर्न नगरपालिकाले आग्रह गरेको छ । सूचनाको अवज्ञा गरी प्लास्टिक तथा अप्राकृतिक फूल बिक्री–वितरण गरेको पाइएमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने नगरपालिकाले चेतावनी दिएको छ ।










