मधेसमा जसपा नेपालको नेतृत्वमा नयाँ सरकार गठनको तयारी, एमाले र नेकपाबीच सहमति

मधेस प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपालको नेतृत्वमा नयाँ सरकार गठनको तयारी अघि बढाइएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै नयाँ सत्ता समीकरण निर्माणको बाटो खुलेको हो ।

नेकपाका प्रदेश सांसद भरतप्रसाद साहले आफूहरूले सरकारबाट राजीनामा बुझाइसकेको जानकारी दिनुभयो । उहाँले जसपा नेपालको नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी भइरहेको बताउनुभयो ।

“हामीले राजीनामा बुझाइसक्यौँ । अब जसपाको नेतृत्वमा सरकार गठन गर्ने तयारी भएको छ”, साहले भन्नुभयो ।

साहका अनुसार जसपा नेपाल, नेकपा र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएको छ । सोही सहमतिअनुसार मधेस प्रदेशमा जसपा नेपालको नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइएको हो ।

यसअघि नेकपा एमालेले पनि नेपाली कांग्रेसको नेतृत्वमा रहेको प्रदेश सरकारबाट समर्थन फिर्ता लिइसकेको थियो । एमालेपछि नेकपाले समेत समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

सरकारका दुई प्रमुख सत्ता साझेदार दल बाहिरिएपछि मधेस प्रदेशको राजनीतिक समीकरणमा फेरबदल आएको छ । नयाँ सहमतिअनुसार जसपा नेपालको नेतृत्वमा सरकार गठन गर्ने तयारीसँगै मुख्यमन्त्री यादव नेतृत्वको सरकारको भविष्य अन्योलमा परेको छ ।

तपाईको प्रतिक्रिया