नेपाली कांग्रेसले प्रदेश र स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटदेखि जनतामाझ पुग्नेसम्मका कार्यक्रम अघि सारेको छ । सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम जनतामाझ पुर्याउन मङ्सिरभर ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् ।
कांग्रेसले उम्मेदवार बन्न आन्तरिक ‘प्राइमरी इलेक्सन’मा प्रतिस्पर्धा गर्नुपर्ने व्यवस्था गर्दै छ । आठ लाखभन्दा बढी क्रियाशील सदस्यलाई एनसी आईडीमार्फत अनलाइन मतदानमा सहभागी गराइनेछ । सदस्यको प्रत्यक्ष मत, सार्वजनिक मतसर्वेक्षण र प्राथमिक निर्वाचन पद्धतिका आधारमा उम्मेदवार टुंगो लगाइने पार्टीले जनाएको छ ।
सभापति थापाले अन्य दलसँग गठबन्धन नगरी आफ्नै चुनाव चिह्न, उम्मेदवार र कार्यक्रमसहित चुनाव लड्ने धारणा राखेका छन् । अब उम्मेदवार चयनमा गुट, पहुँच, संरक्षण वा आर्थिक प्रभावभन्दा योग्यता, योगदान, नैतिक आचरण र कार्यसम्पादनलाई आधार बनाइने नेताहरूले बताएका छन् ।










