चितवन, १९ कार्तिक, २०८३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारको काममा पार्टीले कुनै हस्तक्षेप नगर्ने बताएका छन् । बिहीबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकार र पार्टीको जिम्मेवारी स्पष्ट रहेको र दुवैबीच कुनै अन्तरद्वन्द्व नरहेको बताए ।
लामिछानेले व्यक्तिकेन्द्रित राजनीतिक अभ्यासभन्दा नीति र प्रणालीलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै आफू निर्वाचन क्षेत्रमा ढिलो पुगे पनि सरकारका नीति र पार्टीको संरचनामार्फत काम अघि बढिरहेको बताए ।
उनले संस्थागत संरचनालाई बलियो बनाउँदै प्रहरी प्रशासन, अदालत र प्रेस काउन्सिलजस्ता निकायप्रति विश्वास गर्नुपर्ने धारणा राखे । साथै, सरकार विधिको शासनअनुसार अघि बढ्नुपर्नेमा जोड दिए ।
चितवन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यसमेत रहेका लामिछाने शुक्रबारसम्म जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । शुक्रबार उनले नारायणी नदी किनारको कटान प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।










