भूपराज पाठक स्मृति प्रतिष्ठानद्वारा क्यान्सरपीडित परिवारका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

चितवन, १९ कार्तिक, २०८३ । भूपराज पाठक स्मृति प्रतिष्ठानले चितवनका क्यान्सरपीडित परिवारका बालबालिका तथा अभिभावकविहीन विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।

कृष्णपुर माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा भरतपुरका पाँच शैक्षिक संस्थाका १५ जना विद्यार्थीलाई झोला, कापी, कलम तथा विद्यालय पोसाक र जुत्ता खरिदका लागि आर्थिक सहयोग प्रदान गरिएको हो ।

सहयोग पाउनेमा हिमालय आधारभूत विद्यालय, विश्वप्रकाश माध्यमिक विद्यालय, कृष्णपुर माध्यमिक विद्यालय, सिद्धि विनायक माध्यमिक विद्यालय र सप्तगण्डकी क्याम्पसका विद्यार्थी रहेका छन् । कार्यक्रममा एक सयभन्दा बढी विद्यार्थीलाई ‘मुना’ बालपत्रिकासमेत वितरण गरिएको थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज वस्तीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री विजय सुवेदी प्रमुख अतिथि रहनुभएको थियो । प्रतिष्ठानका अध्यक्ष विपिन पाठकले विपन्न तथा समस्यामा रहेका बालबालिकाको शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया