पदमुक्त गरिएका प्रहरी प्रमुख दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै आज सर्वोच्च जाने तयारी

प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै आज सर्वोच्च अदालत जाने भएका छन् । मन्त्रिपरिषद्को निर्णयको कानुनी वैधतामाथि प्रश्न उठाउँदै उनले सर्वोच्चमा रिट दर्ता गर्ने तयारी गरेका हुन् ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले कार्कीलाई आईजीपी पदबाट पदमुक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई प्रहरी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको थियो । सोही बैठकले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णयसमेत गरेको थियो ।

सरकारको उक्त निर्णयविरुद्ध कानुनी उपचार खोज्ने तयारीस्वरूप कार्कीले बुधबार दिउँसो कानुन व्यवसायीहरूसँग परामर्श गरेका थिए । उनीनिकट एक कानुन व्यवसायीका अनुसार बुधबार समय अभावका कारण रिट दर्ता हुन नसकेपछि बिहीबार सर्वोच्च अदालत जाने तयारी गरिएको हो ।

छलफलमा सहभागी एक कानुनविद्ले सम्भवतः बिहीबार रिट दर्ता हुने जानकारी दिँदै यस विषयमा कानुनी परामर्श भइरहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया