चितवन, १६ कार्तिक, २०८३ । चितवन राष्ट्रिय निकुञ्जभित्र माडी जाने ७.८१३ किलोमिटर सडक ९० करोड रुपैयाँ लागतमा कालोपत्रे गर्ने प्रक्रिया अघि बढेको छ। हुलाकी राजमार्ग निर्देशनालयले तयार पारेको वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) प्रतिवेदन स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पेस गरेको हो।
मन्त्रालयले प्रतिवेदनमाथि रायसुझाव मागेको छ। प्रतिवेदन स्वीकृत भएपछि ठेक्का प्रक्रिया अघि बढ्नेछ। तर, विश्व सम्पदा सूचीमा रहेको निकुञ्जभित्र सडक निर्माण गर्न युनेस्कोको सहमति लिन भने बाँकी छ।
प्रस्तावित सडक रिउ खोला, बनकट्टा, देउराली र ध्रुवघाट हुँदै जगतपुर पुग्नेछ। यो हाल प्रयोगमा रहेको कसरा–ध्रुवघाट–बनकट्टा सडकभन्दा २.८९ किलोमिटर छोटो हुनेछ।
वन्यजन्तुको सुरक्षाका लागि सडकमा अन्डरपास, ओभरपास तथा गति नियन्त्रणको व्यवस्था प्रस्ताव गरिएको छ। यसअघि आवश्यक प्रक्रिया पूरा नगरी तयार गरिएको इआईए सर्वोच्च अदालतले २०७५ सालमा बदर गरेको थियो । अदालतले सरोकारवाला निकाय र युनेस्कोसँग परामर्श तथा सहमति लिएर मात्रै निर्माण अघि बढाउन आदेश दिएको थियो।










