माडीमा ‘बायोसीड ३०१’ धानमा बाला नलागेपछि किसान मारमा, क्षतिपूर्तिको माग

चितवन, १६ कार्तिक, २०८३ । माडी नगरपालिकाका विभिन्न क्षेत्रमा लगाइएको ‘बायोसीड ३०१’ जातको धानमा बाला नलाग्ने र दाना नपसाउने समस्या देखिएपछि किसान चिन्तित बनेका छन् ।

मुख्यतः माडी नगरपालिकाको वडा नं. ३, ५, ६ र ७ लगायतका क्षेत्रमा करिब एक सय हेक्टरमा लगाइएको उक्त धानबाट अपेक्षित उत्पादन नहुँदा किसानले धानसँगै परालसमेत गुमाउनुपरेको हो ।

पीडित किसानहरुले माडी नगरपालिका कृषि शाखामा पुगी गुनासो गर्दै सो धानको बीउ बिक्री गर्ने कम्पनीबाट क्षतीपूर्तिको दबाब समेत दिएका छन् ।

स्थानीय एग्रोभेटहरूबाट खरिद गरिएको उक्त जातको धानमा रोपाइँपछि मरुवा (ब्लास्ट) र खैरो थोप्ले रोग देखिएको थियो । विषादी प्रयोग गर्दा पनि समस्या नियन्त्रण हुन नसकेको र पछि बाला नलाग्ने, बाला लागे पनि दाना नपसाउने तथा खोक्रा बाला मात्रै रहने समस्या देखिएको किसानहरुको गुनासो छ ।

माडी नगरपालिका कृषि शाखाका अनुसार माडी क्षेत्रमा उक्त जातको करिब तीन हजार केजी बीउ बिक्री भएको छ । किसानको गुनासोपछि गरिएको स्थलगत अनुगमनमा विभिन्न रोगका साथै बाला नलाग्ने समस्या देखिएको कृषि शाखा प्रमुख सुरेश सिँखडाले बताउनुभयो ।

समस्याबारे कृषि विकास कार्यालय चितवन र प्रदेश बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रलाई जानकारी गराइएको छ । केन्द्रबाट प्रभावित क्षेत्रको निरीक्षणसमेत भइसकेको छ । अहिले नगरपालिकाले किसानको क्षतिको विवरण सङ्कलन गर्नुका साथै बीउ कम्पनीका प्रतिनिधिसँग छलफल गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया