चितवन, ०२ असोज २०८३ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि माडी-७, चितवनस्थित रमाइलो आमा समूहले १० हजार ५०५ रुपैयाँ सहयोग गरेको छ।
समूहले बाढीपीडित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोष (PM Disaster Relief Fund) मा सहयोग गरेको समूहका अध्यक्ष सरस्वती काफ्लेले बताउनुभयो ।
विपद्को समयमा पीडित परिवारलाई केही भए पनि राहत पुगोस् भन्ने मानवीय भावनाका साथ समूहले सहयोग गरेको समूहका उपाध्यक्ष राधादेवी अधिकारीले जनाउनुभयो।

स्थानीयस्तरबाट विभिन्न संघसंस्था तथा समुदायले राहतका लागि सहयोग जुटाइरहेका बेला रमाइलो आमा समूहको यो योगदानले सामाजिक उत्तरदायित्व र विपद्का बेला सामूहिक सहयोगको सकारात्मक सन्देश दिएको छ।



