चितवन खबर पोष्ट

भोटेकोसी बाढीपीडितलाई माडीका मुस्लिम समुदायको ३७ हजार ६९५ रुपैयाँ सहयोग

चितवन, ०२ असोज २०८३ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि माडी क्षेत्रका मुस्लिम समुदायले ३७ हजार ६९५ रुपैयाँ सहयोग गरेका छन्।

माडीभर रहेका मुस्लिम समुदायले प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा २७ हजार ६९५ रुपैयाँ र चितवन मुस्लिम समाजमार्फत १० हजार रुपैयाँ सहयोग गरेका हुन्। दुवै रकम गरी कुल ३७ हजार ६९५ रुपैयाँ सहयोग गरिएको हो।

शुक्रबारको नमाज पढ्ने समयमा मुस्लिम समुदायबीच चन्दा संकलन गरी उक्त रकम जुटाइएको मुस्लिम समाजका अगुवा मनु मियाँले जनाउनुभयो। संकलित रकम शुक्रबार (आज) सम्बन्धित राहत कोष तथा संस्थालाई हस्तान्तरण गरिएको अर्का अगुवा थनुनी शेखले जनाउनुभयो ।

भोटेकोसी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले धार्मिक तथा सामाजिक भावनासहित रकम संकलन गरिएको मुस्लिम समुदायका प्रतिनिधिहरूले बताएका छन्।

विपद्को समयमा समुदायगत एकता र सहकार्यका साथ पीडित नागरिकलाई सहयोग गर्ने उद्देश्यले गरिएको यस पहलले मानवीय सद्भाव, सामाजिक एकता र विपदमा सहयोगी भावनाको सकारात्मक सन्देश दिएको छ।

तपाईको प्रतिक्रिया