चितवन खबर पोष्ट

माडी–९ का उपभोक्तालाई टम्टाअनार सामुदायिक वनद्वारा ५१ वटा सुन्तलाका बिरुवा वितरण

चितवन, ०२ असोज २०८३ — चितवनको माडी-९ स्थित टम्टाअनार सामुदायिक वन उपभोक्ता समूहले उपभोक्ताहरूलाई सुन्तलाका बिरुवा वितरण गरेको छ।

शुक्रबार सामुदायिक वनको कार्यालयमा आयोजित कार्यक्रममा उपभोक्ताहरूलाई ५१ वटा सुन्तलाका बिरुवा वितरण गरिएको हो। सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष प्रेम आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माडी–९ का वडाध्यक्ष घनश्याम दवाडी प्रमुख अतिथिका रूपमा रहनुभएको थियो।

कार्यक्रममा बोल्दै वडाध्यक्ष दवाडीले सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षणसँगै वितरण गरेका सुन्तलाका बिरुवाको उचित संरक्षण र हेरचाह गर्न उपभोक्ताहरूलाई आग्रह गर्नुभयो।

समूहका अध्यक्ष प्रेम आचार्यले आगामी दिनमा पनि उपभोक्ताको आवश्यकता र मागअनुसार विभिन्न फलफूल तथा उपयोगी प्रजातिका बिरुवा वितरण गर्दै वन संरक्षण, वातावरण संरक्षण र आयआर्जनका कार्यक्रमलाई प्राथमिकता दिइने बताउनुभयो।

उहाँले सामुदायिक वनको संरक्षणसँगै उपभोक्ताको आयआर्जनमा समेत योगदान पुर्‍याउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया