सामुदायिक कुकुर व्यवस्थापन गर्न माडीमा पाँचदिने बन्ध्याकरण शिविर

चितवन, १७ कार्तिक, २०८३ । सामुदायिक कुकुरको व्यवस्थापन तथा रेबिज रोग नियन्त्रण गर्ने उद्देश्यले चितवनको माडी नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क कुकुर बन्ध्याकरण तथा रेबिज खोप शिविर दोस्रो दिन पनि जारी रहेको छ।

माडी नगरपालिका पशुपन्छी तथा मत्स्य विकास शाखाको आयोजनामा सोमबारदेखि सुरु भएको पाँचदिने शिविर आगामी कार्तिक २० गते शुक्रबारसम्म सञ्चालन हुनेछ। शाखा प्रमुख डा. सन्तोष क्षेत्रीका अनुसार शिविरमार्फत घरपालुवा तथा सामुदायिक कुकुरको निःशुल्क बन्ध्याकरण गर्नुका साथै रेबिजविरुद्धको खोप लगाइँदैछ।

शाखाका पशु चिकित्सक डा. नवराज चापागाईंका अनुसार शिविरअन्तर्गत कार्तिक १५ र १६ गते वडा नं. १ र २, १७ गते वडा नं. ३ र ४, १८ गते वडा नं. ५ र ६ तथा १९ र २० गते वडा नं. ७, ८ र ९ बाट कुकुर संकलन गरिनेछ। संकलित कुकुरलाई बसन्तपुर बजारस्थित पशु अस्पतालमा ल्याएर बन्ध्याकरण तथा खोप लगाउने व्यवस्था मिलाइएको जनाइएको छ।

तपाईको प्रतिक्रिया