प्रवास खबर पोष्ट

माडीका युवा भैरव अधिकारीद्वारा NRNA नागोया, जापानको सचिव पदमा उम्मेदवारी घोषणा

माडी, चितवन । वैदेशिक रोजगारीका क्रममा हाल जापानको नागोया शहरमा रहनुभएका माडी-८, दक्षिण अयोध्यापुरी, चितवन निवासी सामाजिक युवा अगुवा भैरव अधिकारीले गैरआवासीय नेपाली संघ (NRNA) नागोया, जापानको सचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

अधिकारीले एनआरएनए नागोयाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि सचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । उहाँले सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल गर्दै भन्नुभएको छ, “NRNA केवल संस्था होइन, यो हाम्रो सपना, संघर्ष र सम्भावनाहरूको साझा मञ्च हो।”

नेपाल र जापानबीचको भावनात्मक, सामाजिक र सांस्कृतिक सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यसहित आफूले सचिव पदको जिम्मेवारी सम्हाल्न चाहेको अधिकारीको भनाइ छ । स्थानीय नेपाली समुदायलाई ‘आत्मीय परिवार’ का रुपमा चित्रण गर्दै उहाँले आफू पदको आकांक्षा लिएर होइन, सेवा गर्ने संकल्प लिएर मैदानमा उत्रिएको उल्लेख गर्नुभयो ।

अधिकारीले माडीसंगै नेपालमा समस्यामा रहेका कयौं नेपालीहरुलाई आर्थिक र अन्य सहयोग गरिआउनुभएको छ । माडी क्षेत्रमा बैकुण्ठ मेला सञ्चालनका लागि नियमित सहयोगका साथै यहाँका दीर्घरोगी र अन्य सहयोगापेक्षीहरुलाई अधिकारीले सहयोग गरिआउनुभएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार