कला-साहित्य पोष्ट

महाकवि लक्ष्मीप्रसाद देवकोटाको कालजयी खण्डकाव्य ‘मुनामदन’मा आधारित नाटक माडीमा मञ्चन

माडी, चितवन । महाकवि लक्ष्मीप्रसाद देवकोटाको कालजयी खण्डकाव्य ‘मुनामदन’मा आधारित नाटक अब माडीमा मञ्चन हुने भएको छ । माडी रङ्गमञ्चको सहकार्यमा पोखरा थिएटरले सो नाटक आउँदो श्रावण १८ र १९ गते माडीको बसन्तपुरस्थित होटल प्याराडाइजको एसी हलमा मञ्चन गर्न लागेको हो ।

पोखरामा दुई चरणसम्म सफल मञ्चन भइसकेको सो शैक्षिक नाटक माडीका विद्यार्थी वर्गसंगै स्थानीय कलाकर्मी, आमा समूह, युवा क्लब, शिक्षक समुदाय, साहित्यिक समूह, जनप्रतिनिधि एवं सर्वसाधारणलाई लक्षित गरी प्रदर्शन गर्न लागिएको माडीका नाट्य कलाकार सुमन तिमिल्सिनाले बताउनुभयो ।

नाटकको नाट्य रुपान्तरण तथा निर्देशन नाट्यकर्मी मोती वहादुर कार्की (परिवर्तन)ले गर्नुभएको हो । उच्चस्तरीय लाइट्स र सेटमा मञ्चन हुने नाटकको साधारण टिकट दर ३०० तथा विद्यार्थीहरूका लागि २५० रुपैंया तोकिएको छ ।
मुनामदन नाटकमा माडीका नाट्य कलाकारहरुको समेत अभिनय रहने बुझिएको छ।

नाटक हेर्नु केवल मनोरञ्जन नभई सामाजिक चेतना र भावनात्मक यात्राको साझा माध्यम भएकोले, सामूहिक सहभागिताका लागि विभिन्न समूह र संस्थाहरुलाई विशेष आह्वान गरिएको छ । मुनामदनको मञ्चनसंगै माडी क्षेत्रमा व्यवसायिक नाट्यकलाको थप विकास एवं यहाँका नाट्यकर्मीहरूमा पुनर्जागरणको अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार