

माडी, चितवन । माडीको बरुवा बजारमा रहेको अधिकांश भुस्याहा (सडक) कुकुरहरुमा रेबिजको लक्षण देखिएको छ । सडक कुकुरहरुले दैनिक ४–५ जना मानिससंगै घरपालुवा पशुचौपायाहरुलाई टोक्ने गरेका छन् । रेबिजको लक्षणयुक्त कुकुरहरुको नियन्त्रण वा व्यवस्थापन हुन नसक्दा सो भेगमा रेबिजको त्रास फैलिएको छ ।
सुरुवातमा बरुवा बजार क्षेत्रमा आइपुगेको (सम्भाव्य संक्रमणयुक्त) बाँदरले आतंक मच्चाएको थियो । सो बाँदरको संसर्गमा पुगेका कुकुरहरुले अहिले आतंक मच्चाइरहेको स्थानीयबासी पं. रामजी सापकोटाले जनाउनुभयो । कुकुरले टोकेसंगै रेबिजको सुई लगाउन बघौंडा अस्पताल जाँदा भनसुन गर्नुपरेको र फलतः कुकुरबाट टोकिएका केहि घाइतेहरु रेबिजको सुई लगाउन भरतपुर धाउनुपरेको पनि उहाँले बताउनुभयो ।

बरुवा मात्रै नभई माडीको कल्याणपुर र अन्य बजार तथा ग्रामीण क्षेत्रमा समेत घरपालुवा र सडक कुकुर एवं अन्य पशुहरुमा रेबिजको लक्षणसंग मिल्दोजुल्दो संक्रमण निकै बढेको अवस्था छ । पछिल्लो ३ साताको अवधीमा रेबिज लक्षणजस्तै संक्रमणकै कारण कुकुर र अन्य पशु चौपाया गरी करीब दुई दर्जनको मृत्यु भइसकेको छ ।

रेबिज संक्रमणयुक्त जनावरको टोकाइबाट सर्ने प्राणघातक रोग रेबिजबाट बच्न घरपालुवा जनावरलाई नियमित रूपमा रेबिजविरुद्धको खोप लगाउने, टोकेको घाउ साबुनपानीले कम्तीमा १५ मिनेट धुने र तत्काल प्राथमिक उपचार गर्ने, टोकिएको व्यक्तिले अस्पतालमा गई रेबिजविरुद्धको खोप लगाउने तथा कुकुरलाई जिस्क्याउने वा चलाउने नगर्ने जस्ता उपाय अपनाउन विज्ञहरू सुझाउँछन् ।