२६ कार्तिक, माडी । मातृभूमी जागरण अभियान नेपालका संयोजक भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा औपचारिक रूपमा प्रवेश गरेका छन्। बुधबार राष्ट्रिय सभागृहमा आयोजित एक समारोहबीच रावलसहित उनका सहकर्मीहरू पार्टीमा समाहित भएका हुन् ।
कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि सह-संयोजक माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम लगायत शीर्ष नेताहरू उपस्थित थिए। उनीहरूले रावललाई खादा लगाएर पार्टीमा स्वागत गरे।

पूर्व एमालेमा सहकार्य गरेका यी नेताहरू अहिले नेपाली कम्युनिस्ट पार्टीको शीर्ष नेतृत्व तहमा छन्। वामदेव गौतमपछिको वरीयतामा रावललाई राखिएको पार्टी स्रोतले जनाएको छ।

कार्यक्रममा नेपाल, खनाल र गौतमले रावललाई स्वागत गर्दै अंकमालसमेत गरे। त्यसपछि संयोजक प्रचण्ड र रावलबीच पनि आत्मीय अंकमालको दृश्य देखिएको थियो।

