२६ पाैष, माडी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रक्रिया नाटकीय रूपमा भङ्ग भएपछि उज्यालो नेपाल पार्टीले आफ्नै अस्तित्वमा निर्वाचन लड्ने घोषणा गरेको छ। शनिबार त्रिपुरेश्वरस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कुलमान घिसिङले उज्यालो नेपालको सदस्यता ग्रहण गर्दै पार्टी अध्यक्षको जिम्मेवारी सम्हालेका छन्।
नवनियुक्त अध्यक्ष घिसिङले रास्वपाले एकतर्फी रूपमा सहमति तोडेको आरोप लगाउँदै पछिल्लो १२ दिन आफ्नो पार्टी र समर्थकहरूका लागि अत्यन्तै पीडादायी बनेको बताए। ‘यो अवस्था आउला भनेर मैले सोचेकै थिइनँ,’ उनले भने, ‘१२ दिनसम्म छलफल भइरहँदा सहमति कार्यान्वयन हुन सकेन। हामीलाई अल्झाएर राखियो।’

घिसिङका अनुसार पुस १४ गते भएको सहमति लिखित मात्र नभई धेरै अलिखित सहमतिहरू समेत थिए। तर रास्वपाले ती सहमति कार्यान्वयन गर्न नमानेको उनको दाबी छ। पदको बार्गेनिङ गरेको भन्ने आरोपको खण्डन गर्दै उनले आफूले कुनै ठूलो पद, प्रधानमन्त्री वा पार्टी अध्यक्षको माग नगरेको स्पष्ट पारे।

समावेशीता, संघीयता र चुनावी प्रक्रियाका विषयमा सुरुमा सहमति भए पनि पछि रास्वपा पछि हटेको गुनासो गर्दै घिसिङले अब उज्यालो नेपाल आफ्नै बाटोमा अघि बढ्ने स्पष्ट पारे। आगामी प्रतिनिधिसभा निर्वाचनमा पार्टीले ‘चिम’ चुनाव चिन्ह लिएर सहभागी हुने उनले जानकारी दिए।

