चितवन खबर पोष्ट

‘कुनै पनि तर्क वा बाहनामा निर्वाचन सार्ने दुस्साहस नहोस्’: नेकपाका संयोजक प्रचण्ड

०५ पाैष, माडी । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘कुनै पनि तर्क वा बाहनामा निर्वाचन सार्ने दुस्साहस नगर्न’ सरकारलाई कडा चेतावनी दिनुभएको छ ।

पार्टीको बागमती प्रदेश कमिटीले शनिबार काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको ‘एकता सन्देश सभा’लाई सम्बोधन गर्दै प्रचण्डले ‘निर्वाचन धकेल्ने वा मिति सार्ने काम भए गम्भीर परिणाम हुने र आफूहरू चुप नबस्ने’ चेतावनी दिनुभएको हो।

प्रचण्डले ‘छरिएर रहेका सबै कम्युनिस्ट शक्तिहरूलाई एउटै केन्द्रमा ल्याउने’ संकल्प दोहोर्‍याउनुभयो । ‘हालसम्म १६ वटा कम्युनिस्ट घटकहरू एकजुट भइसकेको’ भन्दै उहाँले ‘यो एकता प्रक्रिया अझै विस्तार हुँदै जाने’ बताउनुभयो । ‘युवाहरूका मुद्दा अघि सारेकै कारण पार्टीप्रति नयाँ पुस्ताको आकर्षण बढ्दै गएको’ दाबी गर्दै उहाँले ‘समाजवादको यात्रा अब कसैले रोक्न नसक्ने’ बताउनुभयो ।

सम्बोधनका क्रममा प्रचण्डले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै ‘कम्युनिस्ट भन्नेहरूबाटै विभिन्न छलकपट र जालझेल भएको आरोप’ लगाउनुभयो । ‘प्रतिशोधको राजनीतिले देशलाई सही दिशा दिन नसक्ने’ बताउँदै उहाँले ‘पछिल्लो समय सडकमा देखिएका जेनजी पुस्ताका मागहरूलाई आफ्नो पार्टीले उच्च प्राथमिकताका साथ सम्बोधन गर्ने’ प्रतिबद्धता समेत जनाउनुभयो ।

तपाईको प्रतिक्रिया